पुहाँतु मोडेलको चुनाव प्रचारप्रसार

0
97

 नोट र भोट बीचको अन्तरसम्बन्ध पनि अति भो, उमेदवारहरूलाई के दिएर सघाऊँ?? यो प्रश्नले बेस्सरी थिचिराखेको बेला मैले मेरो पुरानै विचार दोहोर्‍याउन चाहेँ ।

के पैसा खर्च नगरीकन चुनाव प्रचारप्रसार हुनै सक्दैन भन्नेमा हामी पनि विश्वस्त भैसकेका हौँ । मलाई अझै लाग्छ, हामीले अहिले पृथक पहिचान, सैद्धान्तिक अडान र इमानदारितामा आधारित चुनावी रणनीति अपनाउनुपर्छ । एउटा भोटसँगै, एक गाँस खाना र एक रातको वाससमेत माग्दै आफ्नो उमेदवारीको प्रचारप्रसार गर्ने “पुहाँतु” सिद्धान्त अनुकरण गर्न हामीले लाज मान्नुपर्ने कारण म देख्दिनँ । पर्चा छाप्ने र बाँड्ने, मतदातालाई मतदान शिक्षा दिने र घरघरमा पुगी आफू को हुँ अनि तोकिएको पदमा रहेर काम गर्न के-कस्तो दर्शनसहित उमेदवारी दिएको हुँ भनेर मतदाताहरूलाई बुझाउन कति पैसा लाग्छ? के सडकमा भीड जम्मा गरेर, होहल्ला मच्चाएर, फुर्तिला भाषणबाजी गरेर, फोस्रा आश्वासन बाँढेर नै चुनाव प्रचारप्रसार हुन्छ ? स्थानीय चुनावले तपाईंलाई आफ्नै वरपरका मानिसहरूकहाँ पुर्‍याउने हो, धेरैले त तपाईंलाई चिनेकै हुन्छन् । तपाईंले आफूसँग नभएको आर्थिक हैसियत देखाएर बडो तामझामका साथ प्रचारप्रसार गरेको देखेर उनीहरूले तपाईंको इमानदार उद्देश्यमाथि कसरी विश्वास गर्लान् ? सबैले गरेकै तरीका अपनाउँदा आफू फरक नीति, सिद्धान्त र मूल्यमान्यताका लागि राजनीतिमा लागिपरेको हुँ भनी पुष्टि गर्न सकिन्छ ? सामान्य नेपाली जनजिब्रोबाट व्यक्त हुने “जो आए नि कान चिरेको” भन्ने विचारलाई कसरी गलत साबित गर्न सकिन्छ भन्नेतर्फ हामीले अब नसोचे कहिले सोच्ने ? म फेरि भन्छु, चुनाव आफूलाई सही प्रमाणित गरेर देखाउने पहिलो मौका हो, जितेपछि गरौंला भन्नू “खोलो तरिसकेपछि लौरो सम्झिए”जस्तो हुन्छ । हामीबाटै इमानदार, मितव्ययी र अनुशासनयुक्त राजनीतिक व्यवहारको थालनी होस् । ऋण काढेर चुनाव लड्ने परम्परा तत्काल अन्य होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here