भागेर जितिने युद्धहरू

0
97

मैदान छाडेर भाग…

बेस्सरी भाग्!!
धेरै युद्धहरू भागेर जितिन्छन्
धेरै क्रान्तिहरू शान्तिमा सफल हुन्छन्
एउटा दीगो पथ निर्माणका लागि
अब भाग्नुपर्छ…
नफर्किइकन भाग्।

म भाग्न थालेको धेरै भयो,
यो रोजाइ मेरो प्राथमिकतामा छ,
विनम्रता बलियो बनाउन
बलजफ्तीलाई परास्त गर्न
अनैतिकतालाई बहिष्कार

गर्न
स्वाभिमान प्रबल बनाइराख्न
सम्बन्धमा शान्ति कायम राखिराख्न,
हो, फेरि पनि भाग्नुपर्छ भने भाग्
फर्किएर नहेरिइकन भाग्।

मैले भाग्नु उचित ठानेको किन?
गलत विचारको सामना गर्ने
अन्धभक्तहरूको जमातलाई चूप गराउने
अन्यायका विरुद्ध शान्तिपूर्ण अस्त्र उठाउने
क्रुद्ध भिजिलान्तेहरूको खप्की सहन गर्ने
दर्शनहीन जत्थाको लहडबाट मुक्त हुने
एउटा अचूक उपाय यही हो…
तिनका नजरमा नपर्नेगरी भाग्।

जब अनैतिक विचार सामुन्ने उभिन्छ
मलाई निलुँलाझैँ  आँखा तर्छ
उसको गलत अडानमा मलाई निहुर्‍याउन खोज्छ,
अन्धाधुन्ध उसलाई पछ्याउन बाध्य पार्छ,
त्यसबेला म पछिसर्छु, मान्छेहरूले चाहे मलाई भाग्यो भनून्
भगुवा बिल्ला भिराएर काखी बजाऊन्…
म अविवेकीहरूको भीडबाट परै उभिन्छु,
थाहा छ, विनम्रतालाई कमजोरी ठान्नेहरूले
हुत्तिहारा ठानी मेरो खिल्ली उडाउने छन्,
तर भाग् र आफूभित्रको सत्यता जोगाइराख्
किनभने न्याय र सत्प्रयासको निम्ति
म एकलै भए पनि धुरन्धर प्रयत्नशील बन्ने नै छु।

कल्याणकारी प्रयास कायम राख्न
मेरो हृदय प्रज्वलित बन्छ,
मेरो आत्मा हठात् सर्वत्र फन्को मार्छ,
विवेकशील विचार उध्याउन
प्रत्येक धड्कनमा म लगनशील बन्छु
जवाफको खोजीमा
म टाढासम्मको यात्रा तय गर्न तयार छु
मैले तराईका सबै गाउँ घुम्नु परे पनि
हिमालका सबै टाकुरा चहार्नुपरे पनि
बाढीले भरिएका प्रलय जंघार तर्नुपरे पनि
आँधीहुरी र अग्घोर वर्षादको सामना गर्दैगर्दै
लखतरान नहुने निश्चयतासाथ
सबै आशंका र बिघ्नबाधा छिचोल्दै
म मेरै पैतालामुनिको जगमाथि उभिनेछु,
किनभने त्यो जग सत्यको चट्टान हो।

मतिर तेर्सिएका प्रश्नहरूको प्रहारबीचमा
मैले न्यायको एउटा ज्योति देखेँ
झलमल्ल बलेको सत्यको दियो
मैले मेरो प्राणको गहिराइबाट
मलाई सधैं जीवित राख्नसक्ने सत्य चिनेँ
एउटा अटल भरोसा मैले नियाल्न पाएँ।

आखिरमा जे टिक्छ, त्यो सत्य नै हो
अमूल्य गाडधन भेट्टाएजस्तो
मैले आफू सही छु भन्ने प्रमाण भेट्टाएँ
म बिफल भौँतारिएको थिइनँ,
उपलब्धी गलतलाई गलतै भन्न सकेकोमा
गर्वसाथ जिउनुको रहस्य न हो,
बरू भागेरै भए पनि मैले मेरो सत् बचाएँ।

त्यसकारण म सुझाउँछु,
तिमी पनि असत्हरूका माझमा
लम्पसार ल्याप्चे लगाउनुको साटो
बरू भागेरै सत् बचाऊ
नछाड, सत्यको पिछा कसैगरी
उत्कृष्ट जीवनको नमूना स्थापित गर्न
भागेरै संघर्ष जितिएका क्षणहरू
लाखौंलाख मुखबाट भोलि कथा बन्नेछन्
जीवन बाँच्न त जो पनि बाँच्छ बरै,
तर नेतृत्वका लागि तय भएको यात्रामा
पटकपटक मौनता र अनुपस्थितिले निर्णय बदलेर
सत्यद्घोष गर्नुको उदाहरण
भावि पुस्ताहरूका लागि अब्बल पथप्रदर्शन बन्नेछ !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here