रगतले श्राप बोकाउँछ, पसिनाले उन्नति र समृद्धि ल्याउँछ

0
112

 यो वर्षको अर्धवार्षिक आर्थिक प्रतिवेदनले राष्ट्रिय उत्पादकत्व २९% घटेको जनायो । प्राथमिकता तोकेरै देशलाई कृषि उत्पादनमा अब्बल बनाउनुपर्छ भनेर भाषण गर्नेहरू थाक्दैनन्, सरकारले पनि आफ्ना नीति तथा कार्यक्रममा यिनै प्राथमिकता तोकेकै छ। तर किसानले आफ्नो उत्पादन सडकमा नष्ट गर्नुपर्ने “बाध्यता” देख्छन् । देशको आर्थिक उन्नतिका लागि आम जनतालाई कृषिको व्यवसायीकरण गर्ने लक्ष्यमा हिँडाउनुपर्ने हो, कागजी भाषामा यस्ता नीति बग्रेल्ती नबनेका भने होइनन् । अहिले कम्पनी रजिस्ट्रारको कार्यालयमा कृषिमा आधारित उत्पादन बढाउने उद्देश्यले स्थापना भएका हजारौं निजी र सामुदायिक कम्पनी दर्ता छन्। तर तीमध्ये कुनकुनले लक्ष्यित कार्यक्रम र उत्पादन गरिरहेका छन् र कुनकुन टाट पल्टिए भन्ने छानबिन हुँदैन। बिचौलिया बिनाको व्यवसाय अझै असम्भव देखिन्छ, प्रगतिको अनुगमन गरिन्न, अनुदानमा टोले गुण्डा र दलीय स्वार्थका लम्पटहरूले अराजकरूपमा भाँजो हालिरहेका छन्। राजनीतिक दलहरू स्थानीयदेखि राष्ट्रिय स्तरका अपराधीहरू, दुराचारी र भ्रष्टाचारीहरू लुकाउने ओढार बनेका छन्, चर्चित नेताजीहरूका सुरक्षित काखमा लुटपुटिएर लुटेराहरू हुर्किरहेका छन्। देशमै बस्छु, आफ्नो परिवार र समुदायमा रहेर नमूनायोग्य केही गर्छु, राष्ट्रिय उत्पादन बढाउँछु र देशलाई प्रगतिको बाटोमा डोर्‍याउने-घँचेट्ने काममा गतिलो योगदान दिन्छु भन्ने नागरिकहरूलाई किनारा लगाउने र बाँच्नै नदिने अँध्यारा दिनहरू कायमै राखेर युवालाई बिदेशतिर लखेट्ने अवस्था लम्बिएको छ। देशमा परिवर्तनको सपना देख्ने युवाहरू चटकी नेताजीका मानसिक दास बनेर गुण्डागर्दी गर्न सिक्नुपर्ने बाध्यात्मक बाटो समाउँछन्, होइन भने परिस्थितिबश तिनका हातले “भिसा” च्यापेर देशप्रेमका लागि आफूले गरेको त्यागप्रति पछूतो गर्दै ती बिदेशिन्छन्। अझै केही गर्न खोजे प्रेम आचार्यले रोजेको उपायमा सहीछाप लगाउने छन्। दुःखद् कुरो, पसिनाले भिज्नुपर्ने देशको माटो अहिलेसम्मै रगतले लत्पतिइरहेको छ। स्मरण रहोस्, रगतले श्राप बोकाउँछ, पसिनाले उन्नति र समृद्धि ल्याउँछ।

मैले तपाईंलाई निराश तुल्याउन यो लेखेको होइन । आशावादी छु म अझै पनि । परिवर्तन सम्भव छ। त्यसकार म भन्छु- अभाव, अन्याय, अत्याचार, असुबिधा र अराजकता भैरहँदा तपाईं र मैले मुकदर्शक बनेर बस्नुहुँदैन। तपाईं साहस देखाउनुहोस्, परिवर्तनको पक्षमा बोल्नुहोस्। आफ्नो ठाउँबाट तपाईंको बोली अब राजनीतिक तथा प्रशासनिक आवरणमा देखाएका दैंत्यहरूको बिरुद्धमा चर्को सुनिनेगरी बोलोस् र निराशमा सुत्न खोजिरहेका नागरिकहरूलाई झसङ्ग बिउझाउनेगरी देशैभरि सुनियोस्।

#बोल_जनता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here