इतिहासले लेखोस्, संघर्षका कथाहरू

0
79

पौरखका कथाहरू बेलाबखत सुन्न पाइन्छन्…

जब पौरखीहरू संघर्षसित हार्न चाहन्नन्,

जीवनमा आइलाग्ने संघर्षहरू,

मैले लडेका, तिमीले जितेका

अरू कतिले हार खाए र कहिल्यै नजित्नेगरी हारे

हामीले त आशा राख्यौं नि त

आफैंमाथि र परमेश्वरमाथि गरेको विश्वासको परिणाम,

निरन्तर आइलागेका सघर्षहरू सबै हारे

हाम्रो जीत भयो,

विजेताहरूमा महान…

जीवन अझै अघि बढ्नु छ नि,

त्यसैले संघर्ष अझै बाँकी छन्,

हामीले विजय हासिल गर्दै जानुछ…

असल लागेका कामहरू आफैबाट शुरू गर्नुछ

कल्याणकारी कामको लागि आफैंलाई सुम्पनु छ

भलाइँ गर्नमा थाक्दैनथाक्ने बनेर अघि बढ्नु छ

उचित लागेको काम निस्वार्थ गर्नुछ, गरिरहनु छ।

कति राम्रो हुन्थ्यो!

नयाँ कामको थालनी आजै भैहालोस्

सकारात्मक परिणाम ल्याउने अठोट देखियोस्

नयाँ परिवर्तनको पक्षमा सबै जुटिहालून्

तर अरूले गरेनन्,

पर्खिबस्नु पनि भूल हुनेछ

मैले भन्न सक्ने कुरा मैले किन नभनेको ?

मैले गर्न सक्ने काम मैले नै किन नगरेको?

परिवर्तन चाहिएको थियो, मैले नै किन नथालेको?

इतिहासले चित्त दुखाउँदो हो,

बिगतले बिस्मतमा खुईया काढ्दो हो,

आर्जन गरिएका सबै ज्ञान, सीप र क्षमताहरू…

सहयोगी बन्न तयार सबै सहकर्मीहरू…

सम्भावना बोकेका सबै उपलब्ध स्रोतसाधनहरू…

मेरै हिमायती बनेर आएका बलवान क्षणहरू सबै,

तर मबाट असल केही नभएकोले

ती दुखेसो गर्दै हुनेछन् ,

म पछिको पुस्तासँगै…

असल गर्नुपर्ने होइन र?

तर अरूले गरेनन्, गर्दैनगर्लान्

धेरै ढीला भैसक्यो,

तब मैले कति पर्खिरहने?

थाहा छैन कति, धेरथोर समय मसँग अझै छ,

म निरन्तर लागेँ सुकार्यमा,

यति कुरा पहिल्यै बुझ्नुपर्थ्यो

ढीलागरी भए पनि मैले बुझेँ –

नयाँ काम आफैंले शुरू गर्नुपर्ने रहेछ!

हो, म आजपर्यन्त केही त गर्दैछु।

किनभने अरूले गरेनन्

अरूले गरिदऊन् भनी पर्खिरहेको भए …

आजसम्म मैले जे गरेँ,

त्यो सायद कहिल्यै हुनेथिएन।

आफ्नै मान्छेहरू उसबेला प्रश्नले मेरो नाक घोच्थे

ख्रीष्टियन भएर पनि पत्रकार ?

तर त्यहाँ सत्यको उद्घोष हुनुपर्थ्यो।

बाइबल कलेजमा “सेकुलर शिक्षा”?

तर त्यहाँ संसारसँग मुकाबिला गर्नसक्ने ज्ञानको खाँचो थियोे।

“फोहोरी खेलमैदान”मा नैतिकताको राजनीति?

तर त्यहाँ नैतिक परिवर्तनको मान्यता अत्यावश्यक थियोे ।

त्यसमाथि पनि, महत्त्वपूर्ण मुरा त

यी तिनै क्षेत्रहरूमा कल्याणकारी चरित्रको खाँचो थियोे ।

आफ्नो हित नसोचीकन अरूको हित कसरी गर्ने?

प्रतिफलको आशा नराखीकन अनेकौं मिसनकार्य?

बङ्गला, बाहन र बैंकमा बचत हुनुर्दैन?

आफ्नो पेट भोको राखेर,

परिवारको गाँस काटेर,

आफ्नो सीमित आयआर्जन भाग लगाएर,

नितान्त खाँचो भोगेकाहरूको पक्षमा राहत बाँडेर

जेजति होस्, लोककल्याणका खातिर

थोरै भए पनि जीवनको लगानी भयो !

अरू पनि प्रशस्तै छन् कथाहरू

तिनै कथाहरूले संघर्षहरूलाई पछारेका छन्,

अरू पनि छन् जगतले नपात्याएका गवाहीहरू

तिनै गवाहीहरूले धेरैलाई ग्वानीमा बेस्सरी डुबाउनेछन्,

अरू पनि छन् संघर्षका बयानहरू…

भन्नै परे सबिस्तार भनूँला नि है!

तथापि स्मरण रहोस्,

मैले यो-त्यो गरेँ भनेर डङ्का पिट्नु परोइन,

सम्भव हुनसके अरूलाई उत्साह होस् भनेर

तिमीले पनि बेलाबेलामा संघर्षका कथाहरू सुनाउनुपर्छ,

किनभने असल भविष्यको चाह गर्नेहरू अझै छन्,

सकारात्मक परिवर्तनको पक्षमा संघर्षसँग नहार्नेगरी

अब तिमीले पनि नयाँ विजयहरू रच्दै जानुछ।

#सुन्दर_शान्त_समृद्ध_नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here