कविता: नेपाली युवा

0
171

 नेपाली युवा,

देशको मायामा ऊ भावुक हुन्छ,

“राष्ट्रवाद” उसको ढुकढुकी।

लज्जाबोधमा कतै देश झुक्छ कि?

सचेत छ ऊ, खबरदारीमा उभिन्छ!

ऊ किमार्थ झुक्दैन,

परचक्रीका टेढो आँखाले देश नहेरोस् !

ऊ निर्धक्क गर्जन गर्जिन्छ।

ऊ विश्वासयोग्य सिपाही देशको,

ऊ अविरल चिन्तित छ,

देशको अस्मिता होस् कि जनताको स्वतन्त्रता,

जोगाउने-स्थापित गर्ने जिम्मा उसको,

त्यसैले ऊ सडकछाप आन्दोलनकारी।

नेपाली युवा,

राष्ट्ररक्षामा दत्तचित्त लागिरहँदा,

अध्ययन आफैं गर्ने फुर्सद खै?

विचार सापटी लिएर आन्दोलित हुनु बाध्यता !

तर विचार सापटी दिने को हो?

नयाँ-पुराना नेताहरूले

उसका दिमागमा बलियो विचार हालिरहेछन्,

“युवा, उठ्, आन्दोलन गर्नुपर्छ!”

सडकमा चर्को कराउनू,

ढुङ्गामूढा, उचालपछार, तोडफोड !

बेस्सरी उफ्रिनू, ज्यानै जाला नछाड्नू!

भोकतिर्खा, अङ्गभङ्ग, गिरफ्तारी,

शहिदै बन्न परे पनि पछि नसर्नू!

तर नियति,

चटकी नेताले हुस्यायो, युवा हुस्सियो

आन्दोलन उसको स्थायी पेसा भयो,

ऊ उफ्रिनुसम्म उफ्रियो,

धूवाँधूलो, हसिनपसिन जहिल्यै ऊ,

उसको परिश्रम नेताले लुट्यो,

उसको आन्दोलन नेता पोस्ने मेसो,

त्यसकारण आन्दोलन अब निरर्थक बन्यो !!

#आन्दोलन_बन्द#JPN

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here