नवसामन्ती बाटोमा जनताका नेताहरू

0
104

 अन्यथा नबुझियोस्

नेपाली कांग्रेसमा राम्रो छवि कायम राखेका नेता चन्द्र भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै र उहाँकी आमाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसाथ तथ्यबोध गराउने धृष्टता देखाउनुलाई नागरिक कर्तव्य सम्झन्छु। देशमा लोकतन्त्रको पर्याय बनेर राजनीति गरिरहेको नेपाली कांग्रेसलाई सुधार्न सकिन्छ कि? आशावादी त हुनुपर्छ । तर ७५ वर्षको लामो राजनीतिक यात्रामा ४० वर्ष जति सत्तारूढ बनेको नेपाली कांग्रेसले आफ्नै नेतालाई यथेष्ट उपचार दिन सक्ने अस्पताल बनाउने प्राथमिकता ठानेन किन? लोकतन्त्र, अर्थात् जनताले जनताको निम्ति जनताद्वारा नै गरिने शासन (सेवा) को नाममा राजनीति गर्नेहरूको खास प्रयत्न के हो ? यहाँ दिनहुँ लगभग २० जना जनता दुर्घटनामा परेर मर्दैछन्, दुर्घटनामा परेका जनताको उपचार गर्ने अस्पताल छैनन्, जनताको उपचार गर्ने बहानामा खोलिएका निजी अस्पतालले ब्रम्हलूट गरिरहेका छन्, जनता उपचारको खर्च जुटाउन नसकेर सडकमा मर्छन्। अनि एउटा लोकतन्त्रवादी भनिएको नेतालाई टपक्क टिपेर उपचार गर्न बिदेश पुर्‍याइन्छ! हे, कांग्रेसी महाजन, तपाईंको शासनका करिब ४० वर्षमा स्वास्थ्य सेवा शिर्षकमा कति बजेट छुट्याउनुभयो? कतिवटा सुबिधासम्पन्न अस्पताल बनाउनुभयो? बिपन्न परिवारका कति युवाहरूलाई चिकित्साशास्त्र पढ्न छात्रवृत्ति दिनुभयो ? स्वास्थ्य विज्ञान र स्वास्थ्य सेवा क्षेत्रको विकासको नाममा तपाईंकै आशीर्वाद थापेर कसले कति ब्रम्हलूट गर्न भ्यायो? तपाईंले चर्कोगरी बोलेका लोकतन्त्रकै भाषण पत्याएर नेपाली जनताले पटकपटक तपाईंलाई शासक बनाए त? तर तिनै जनताले खाँचो पर्दा सिटामोल निल्न पाउँदैनन् किन? जनता देशमा निसास्सिएका छन्, देशमा शान्तिपूर्ण सुखद जीवनको सम्भावना नदेखेर दिनहुँ हजारौं जनता प्यारो मातृभूमि छाड्न बाध्य भैरहेका छन्। दुरावस्थाको जिम्मेवारी अब जनताले नै लिनुपर्ने हो ?

पुनश्च: चन्द्र भण्डारीसँगै अस्पतालका उपचार शैयामा स्वास्थ्यलाभ गरिरहनुभएका हजारौं नेपाली दिदीबहिनी दाजुभाइहरूको शीघ्र तन्दुरुस्ती र यथेष्ट उपचार खर्चको बन्दोबस्त हुनसकोस् हार्दिक कामना व्यक्त गर्दछु।

#जनजागरण_पार्टी_नेपाल

#सुन्दर_शान्त_समृद्ध_नेपाल

@BP Khanal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here